क्वान्टाईनमा राखिएको पानीजहाजका २ यात्रुको कोरोना संक्रमणबाट मृत्यु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०७६ | एजेन्सी

जापानले क्वान्टाईनमा राखेको पानीजहाजका २ यात्रुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जहाजमै रहेको समयमा संक्रमित भएका ८७ बर्षीय वृद्ध र ८४ बर्षीया वृद्धाको मृत्यु भएको हो । दुवै जना जापानी नागरिक हुन् । उनीहरुको परिचय भने सार्वजनिक गरिएको छैन ।

 संक्रमण देखिएपछि गत साता अस्पताल भर्ना गरिएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको अधिकारीहरुले बताएका छन् । जापान सरकारले कोरोना भाइरसबाट प्रभावित यात्रु सवार पानीजहाजमा गरेको क्वारेन्टाइन प्रक्रियाको चर्काे विरोध भइरहदा मृत्युको खबर सार्वजनिक भएको हो । 

जहाजमा रहेकामध्ये कम्तिमा ६ सय २१ जनामा संक्रमण पुष्टी भइसकेको छ । चीनबाहिर संक्रमितको यो, सबैभन्दा ठूलो संख्या हो । ३ हजार ७ सय यात्रु सवार सो जहाज झण्डै १५ दिनअघिबाट क्वारेन्टाईनमा राखिएको छ । यस अवधीमा कोरोना नदेखिएका यात्रुलाई भने जहाजबाट बिदा गरिएको छ ।

पानी जहाजमा भाइरस सर्नबाट रोक्न भएका प्रयास पर्याप्त नहुँदा संक्रमितको संख्या वृद्धि भएको भन्दै जापानको आलोचना हुने गरेको छ । अमेरिकाले जहाजमा सवार आफ्ना ४ सय नागरिकको उद्धार गरेको छ । यस्तै, १ सय ५० बढी अष्ट्रेलियाली नागरिकलाई पनि स्वदेश फिर्ता लगिएको छ ।

यसैबीच, चीनमा हालसम्म करिब ७५ हजारमा कोरोना संक्रमण देखिएको छ । २ हजार १ सय १८ जनाको मृत्यु भइसकेको छ । यद्यपि, हाल हुबेइ प्रान्तमा नयाँ बिरामीको संख्यामा उल्लेख्य कमि आएकाले नियन्त्रण उन्मुख रहेको दाबी गरेको छ । 


प्रतिक्रिया