कोरोना संक्रमणका कारण दक्षिण कोरियामा पनि आपतकाल

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ९, २०७६ | एजेन्सी

दक्षिण कोरियामा कोरोना संक्रमण बढ्दै गएर आपतकालीन अवस्था आईपरेको प्रधानमन्त्री चुङ से–क्युनले बताउनुभएको छ । लगातार दोश्रो दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढेपछि प्रधानमन्त्री चुङले आपतकालीन अवस्था आएको बताउनुभएको हो । 

दक्षिण कोरियाको डेगु र चेङ्गदो शहरलाई विशेष सावधानी क्षेत्र घोषणा गरिएको छ । संक्रमण बढ्दै गएपछि डेगु शहरमा सर्वसाधारणको हिडडुल तथा सार्वजनिक जमघट पातलो हुँदै गएको बीबीसीले उल्लेख गरेको छ । केही सैनिकमा कोरोना संक्रमण पुष्टी भएपछि सबै किसिमका सैन्य क्रियाकलाप समेत बन्द गरिएको छ । 

एउटा धार्मिक समुहका ९ हजार जनालाई क्वारेन्टाईनमा राखिएको छ । दक्षिण कोरियामा आज मात्र ५२ जना नयाँ संक्रमित फेला परेका छन् । 

योसंगै कुल संक्रमितको संख्या १ सय ५६ पुगेको छ । जुन संख्या, कोरोना उत्पत्ति भएको चीन बाहिर सबैभन्दा ठूलो हो । चीनमा हालसम्म २ हजार २ सय ३६ जनाको मृत्यु भईसकेको छ भने कुल संक्रमितको संख्या ७५ हजार नाघेको छ । चीनवाहिर विभिन्न मुलुकमा गरी १ हजार बढीमा संक्रमण पुष्टी भएको छ । 


प्रतिक्रिया