इजिप्टका पूर्व राष्ट्रपति मुबारकको निधन

फाल्गुन १३, २०७६ | काठमाडौं

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । सन् २०११ मा सेनाले अपदस्थ गरी हटाएका मुबारकको ९१ वर्षको उमेरमा कायरोस्थित सैन्य अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । 

मुबारकले लगातार ३ दशकसम्म मुलुकको सत्ता सम्हाल्नुभएको थियो । सन् २०११ मा सरकार विरोधी प्रदर्शन चर्किएपछि सेनाले मुबारकलाई अपदस्थ गरेको हो । 

प्रदर्शनकारीको हत्या गर्न निर्देशन दिएको आरोपमा दोषी ठहर गर्दै मुबारकलाई जेल सजाय सुनाइएको थियो । तर, सन् २०१७ को मार्चमा सफाई पाएपछि मुबारक रिहा हुनुभएको थियो ।

किशोर अवस्थामा हवाई सेनामा प्रवेश गरेका मुबारकले सन् १९७३ मा भएको अरब–इजरेल युद्धमा मुबारकले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । 

तत्कालीन राष्ट्रपति अन्वर सडाटको हत्या भएपछि मुबारकले राष्ट्रपति पद सम्हाल्नुभएको हो । 

मुबारकको समयमा इजिप्टले अर्बौ डलर विदेशी सहायता पाउने गरेको भएपनि बेरोजगारी, गरिबी र भ्रष्टाचार पनि उच्च भएको बीबीसीले उल्लेख गरेको छ ।   


प्रतिक्रिया