विश्वमा ५७ लाख २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि

जेष्ठ १५, २०७७ | एजेन्सी

विश्वभर ५७ लाख २७ हजार ६ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ लाख ५६ हजार २ सय ७९ जनाको भाइरसका कारण मृत्यु भएको छ । 

अमेरिकामा सबैभन्दा बढि १ लाख ५ सय ७६ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ । विश्वकै ३० प्रतिशत संक्रमितको संख्या रहेको अमेरिकामा १७ लाख ३ सय ५० मा संक्रमण पुष्टि भएको छ ।

भारतमा संक्रमणको संख्या १ लाख ६० हजार नाघेको छ । त्यहाँ मृत्यु हुने ४ हजार ५ सय ६० जना पुगेका छन् । पाकिस्तानमा ६१ हजार २ सय २७, बंगलादेशमा ४० हजार ३ सय २१, अफगनिस्तानमा १३ हजार ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच, जर्मनीले विश्व अर्थतन्त्र सहयोग गर्न संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेको छ । जर्मन चान्सलर एंगेला मर्केलले कोरोना भाइरस संकट छिटो समाधानका लागी छोटो अवधिका लागी सबै जसो मुलुकलाई सहयोग आवस्यक पर्ने भएकाले अन्तराष्ट्रिय मुद्रा कोषले सहयोग गर्नुपर्ने बताउनुभएको छ । 

फिलिपिन्समा सरकारले जुन १ देखी लकडाउनलाई खुकुलो बनाउँदा अर्थतन्त्रलाई पुन गति दिने निर्णय गरेको छ । बेलायतले पनि लकडाउनलाई केही खुकुलो बनाउने योजना सार्वजनिक गरेको छ । जुन १ देखी नै केही प्रतिबन्ध खुकुलो पार्ने प्रधानमन्त्री बोरीस जोनसनले बताउनुभएको छ ।

इण्डोनेसिया सरकारले अन्य मुलुकले प्रतिबन्ध लगाएको मलेरियाका दुई प्रकारका औषधी कोरोना भाइरसका विरामीका लागी प्रयोग गर्ने निर्णय गरेको छ ।   


प्रतिक्रिया