शहिदहरुको बलिदान खेर जान नदिने भारतका प्रधानमन्त्री मोदीको भनाई

असार ३, २०७७ | दिल्ली

– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शहिदहरुको बलिदान खेर जान नदिने बताउनुभएको छ । लद्दाखको गलवान उपत्यकामा सोमबार राती २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको हिंसात्मक झडपप्रति मोदीले पहिलो पटक आफ्नो प्रतिक्रिया दिनुभएको हो । 

 प्रधानमन्त्री मोदीलाई उद्यृत गर्दै भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ– देशको सेवाका लागि सैनिकहरुको महान बलिदानका लागि नमन गर्छु । आज पुरा देश तपाईहरुसँग छ र पुरै देशको भावना तपाईहरुसँग छ । प्रधानमन्त्री मोदीले भन्नुभयो –शहिदको बलिदान खेर जान दिनेछैनौं । म पुरै देशलाई भरोसा दिलाउन चाहन्छु, हाम्रा जवानहरुको बलिदान खेर जाने छैन । मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै मोदीले यस्तो बताउनुभएको हो । घटनाको दुई दिन भईसक्दा समेत सरकारको धारणा सार्वजनिक नगरेको भन्दै प्रधानमन्त्री मोदीको आलोचना भएको थियो ।

त्यसैगरी भारतले छिमेकीहरुसँग संधै नै समझदारीपूर्ण र शान्तिपूर्ण तरिकाले मिलेर काम गर्दै आएको र छिमेकीको विकास र शान्तिको कामना गर्ने गरेको समेत मोदीले उल्लेख गर्नुभएको छ । छिमेकबीच मतभेद भएपनि त्यो विवादमा परिणत नहोस् भन्ने भारतको चाहना रहेको प्रधानमन्त्री मोदीको भनाई छ । 


प्रतिक्रिया