कोरोना भाइरसको महामारीबीच पोल्याण्डमा राष्ट्रपतीय मतदान सम्पन्न

असार १४, २०७७ | काठमाडौं

कोरोना भाइरसको महामारीबीच पोल्याण्डमा आज राष्ट्रपतीय मतदान सम्पन्न भएको छ । गत मे महिनामा हुनुपर्ने भए पनि कोरोना भाइरसको महामारीका कारण सो मतदान आजका लागि सारिएको थियो । निर्वाचनका लागि वर्तमान राष्ट्रपति अन्ड्राज डुडासँगै अरु दश जना चुनावी मैदानमा छन् । अठचालीस वर्षीय डुडालाई सत्तारुढ रुढीवादी पार्टी कानुन र न्याय पार्टीको समर्थन रहेको छ । 

पछिल्ला विभिन्न सर्वेक्षणहरुले मतदानको पहिलो चरणबाट नै कुनै उम्मेदवारले ५० प्रतिशत बढी भन्दा मत ल्याउन नसक्ने देखाएको छ । त्यसैले दोस्रो चरणको मतदान गर्नुपर्ने सम्भावना देखिएको समेत रहेको बीबीसीले जनाएको छ । ५० प्रतिशत मत नल्याएमा आगामी जुलाई १२ तारिखका दिन अर्को चरणको मतदान गराउने गरी मिति तय समेत भएको छ । आज भएको पहिलो चरणको मतदानको नतिजा आगामी बुधबारसम्म सार्वजनिक हुनसक्ने जनाइएको छ ।

 तीन करोड ८० लाख जनसंख्या रहेको पोल्याण्डमा अहिलेसम्म ३४ हजार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने एक हजार ४ सय जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया