कोभिड १९ महामारीको वर्तमान अवस्थाका बारेमा डब्लुएचओले समीक्षा गर्ने

तस्बिर : रोयटर्स 

असार २५, २०७७

– विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को वर्तमान अवस्थाको बारेमा समीक्षा गर्ने भएको छ । डब्लुएचओले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयासका बारेमा समीक्षा गर्ने बीबीसीले उल्लेख गरेको छ । सदस्य राष्ट्रहरुसंग कुरा गर्दै डब्लुएचओका प्रमुख डा टेड्रोस एडनम ग्रेवियसले न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेन जोनसन सिर्लेफलाई समितिको सहअध्यक्ष बनाइने बताउनु भएको छ ।

 सबैले आत्म चिन्तन गर्दै सहयोगलाई सुदृढ बनाउँदै लैजान सके कोभिड १९ को संक्रमणबाट बच्न र महामारी रोकथाम गर्न सकिने डब्लुएचओ प्रमुख ग्रेवियसको भनाई छ । बेलायतका दुई ठूला कम्पनी जोन लुइस् र बुट्स्ले ५ हजार ३ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कोभिड १९ महामारीका कारण बेरोजगारको समस्या चुलिएको भन्दै अक्सफाम इन्टरनेशनलले दैनिक १२ हजारले खान नपाएर ज्यान गुमाउन सक्ने चेतावनी दिएको छ । अष्ट्रेलियाको ठूलो शहर मेलवर्नमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि दोश्रो पटक लकडाउन शूरु गरिएको छ । इरानमा फेब्रुअरी यता आज सबै भन्दा बढी २ सय २१ जनाले कोभिड १९ का कारण ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर एक करोड २० लाख ६६ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड १९ का कारण ५ लाख ५० हजार १ सय ५९ जनाले ज्यान गुमाएका छन् । कोभिड १९ को संक्रमण दर र मृत्युदर अमेरिकामा बढी रहेको विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया