मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा

असार २८, २०७७ | काठमाडौं

संवैधानिक निर्वाचनको नतिजाप्रति असन्तुष्टी जनाउँदै देशव्यापी रुपमा चर्किएको प्रदर्शनका कारण मुलुकमा अशान्ति बढेको भन्दै मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालत विघटनको घोषणा गर्नुभएको छ । 

गत मार्चमा संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई संवैधानिक अदालतले अमान्य ठहर गरिदिएपछि असन्तुष्ट समूहले देशव्यापी आन्दोलनको घोषणा गरेका थिए । अदालतको निर्णय निष्पक्ष नभएको भन्दै शुरू आन्दोलन हिंसात्मक बन्दै गएपछि राष्ट्रपतिले विवादास्पद संवैधानिक अदालतका सम्पूर्ण पदाधिकारीलाई बर्खास्त गर्दै सुधारको प्रतिवद्धता व्यक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । गत शुक्रबार भएको प्रदर्शनका क्रममा ४ जनाको मृत्यु भएपछि राष्ट्रपतिले पछिल्लो कदम चाल्नुभएको हो । 

उहाँले भन्नुभएको छ “म यस्तो हिंसात्मक गतिविधी सहन गर्दिन, संवैधानिक अदालतका बाँकी सदस्यको इजाजतपत्र रद्द गर्ने निर्णय गरिसकेको छु । अदालतको यो विघटनले सम्बन्धित अधिकारीलाई अदालतलाई स्वच्छ तथा निष्पक्ष सावित गर्ने गरी नयाँ सदस्यहरूको मनोनयन गर्न मार्ग प्रशस्त गर्नेछ र विवादलाई अन्त्य गर्नेछ ।” राष्ट्रपति केइटाले राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनमा भन्नुभयो, “हाम्रो निर्णयले संसदीय निर्वाचनबाट उब्जिएका विवादलाई अन्त्य गरेको छ ।” नयाँ सदस्यहरुको मनोनयन आगामी साता हुने आंकलन छ । 


प्रतिक्रिया