समाचार सामग्री प्रयोग गरेबापत भुक्तानी गर्न गुगल र फेसबुकलाई अष्ट्रेलियाको आग्रह

श्रावण १६, २०७७ | अष्ट्रेलिया

अष्ट्रेलिया सरकारले विश्वकै ठूला कम्पनि गूगल र फेसबुकलाई अष्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रकम भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेको छ । आज जारी गरिएको सञ्चार आचारसंहिताको मस्यौदामा व्यवसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख गरिएको बीबीसीले जनाएको छ । 

 अस्ट्रेलियाद्वारा प्रस्तावित सो मस्यौदामा यी दुई कम्पनीलाई अस्ट्रेलियाली सञ्चारमाध्यमसँग रकम भुत्तानी सम्बन्धमा सम्झौता गर्न तीन महिनाको समय दिएको छ सो अवधिमा सम्झौता नगरे सरकार आफैँले मध्यस्थकर्ता नियुक्त गरी काम थाल्ने बताइएको छ । यस्तै प्रस्तावित मस्यौदामा नियम उल्लंघन गरे त्यस्ता कम्पनिको वार्षिक कारोबारको १० प्रतिशतसम्म वा ७२ लाख अमेरिकी डलर जरिवाना गरिने उल्लेख छ ।

अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले तत्काल गूगल र फेसबुकलाई लागू गरिएको यो नियम बिस्तारै अन्य कम्पनिमाथि पनि लागू हुने जानकारी दिनुभयो । अस्ट्रेलियाका सञ्चारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन यो व्यवस्थाले केही हदसम्म भएपनि सहयोग गर्ने अपेक्षा सरकारको छ । मस्यौदामाथि सुझाव दिन अगस्ट २८ सम्मको समयावधि तोकिएको छ ।

यसैबीच गूगलले अस्ट्रेलिया सरकारले अघि सारेको मस्यौदा एकतर्फी रहेको भन्दै असन्तुष्टी जनाएको छ । डिजिटल अर्थतन्त्रका लागि यसले अवरोध सिर्जना गर्ने उसको तर्क छ ।  


प्रतिक्रिया