नेपालको रामसँग आत्मीय सम्बन्ध छ : प्रधानमन्त्री मोदी

श्रावण २१, २०७७ | नयाँ दिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताउनु भएको छ । भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यास्थित राम मन्दिर निर्माणको बुधबार औपचारिक शिलान्यासपछि विश्वका विभिन्न मुलुकसँग रामको सम्बन्ध केलाउने क्रममा मोदीले त्यस्तो बताउनु भएको हो । 

उहाँले भन्नुभयो, ‘नेपालको त रामसँग आत्मीय सम्बन्ध माता जानकी (सीता) सँग जोडिएको छ ।’ 

मोदीले बुधबार भारतीय समयअनुसार मध्यान्ह साढे १२ बजे एक विशेष कार्यक्रमबीच भूमि पूजा गरेर मन्दिरको निर्माणको विधिवत थालनी गर्नुभयो । मोदीले मन्दिर निर्माण स्थलमा चालिस किलोका पाँच वटा चाँदीको ईटा राखेर तीन तल्ले मन्दिरको औपचारिक शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमलाई भव्य बनाउन केन्द्र र उत्तर प्रदेश सरकारले विशेष तयारी गरेको थियो ।

मोदीले अयोध्यामा नेपाललाई जोडेर दिएको भनाई उल्लेख गर्दै भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले पनि राम–सीताको सम्बन्धले पनि दुई देशको सम्बन्ध निकट र बलियो रहेको जनाएका छन् । ‘राम–सीतासित जोडिएको दुई देशको निकटता गहिरो र बलियो छ । यो सम्बन्धलाई आधुनिक समय अनुरुप बढ्दो सहयोगात्मक र सुदृढ बनाउन राम–जानकीले प्रेरणा दिइरहुन्’ राजदूत आचार्यले ट्विट गर्दै भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा राम जन्मेको अयोध्या नेपालको वीरगञ्ज छेउमा पर्ने दावी अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर ओलीको भारतमा मात्र नभएर नेपालमा पनि चर्को आलोचना भएको थियो । 

पछि परराष्ट्र मन्त्रालयले ओलीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्‍याउने उद्देश्य नरहेको भन्दै प्रष्टीकरण दिएको थियो । तर, उहाँका समर्थकहरुले भने रामको जन्मभूमिका सम्बन्धमा भारतमा समेत मतैक्य नरहेको हुँदा ओलीको अभिव्यक्तिलाई गलत भन्न नमिल्ने बरु त्यसलाई आधार बनाएर राम जन्मभूमि र अध्योध्याको अध्ययन र अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएका छन् । 


प्रतिक्रिया