अफ्गानिस्तानमा सरकारी सुरक्षाफौज र तालेवानबीच भीडन्त, हजारौं बिस्थापित

आश्विन २८, २०७७ | काठमाडौं

अफ्गानिस्तानको हेल्मन्द प्रान्तमा सरकारी सुरक्षाफौज र तालेवान बिद्रोही समुहबीच जारी भीडन्तका कारण हजारौं सर्वसाधारण बिस्थापित भएका छन् । 

तालेवानले कब्जामा लिएको रणनीतिक दृष्टिकोणले महत्वपूर्ण ताश्कर गा क्षेत्रलाई पुन: आफ्नो नियन्त्रणमा लिने सरकारी सुरक्षाफौजको प्रयासका क्रममा लगातार तेश्रो दिन पनि भीषण भीडन्त भएको हो । भीडन्तका कारण हालसम्म करिब ३५ हजार मानिस आफ्नो घर छोडेर भागेको बीबीसीले जनाएको छ । हताहतीको विवरण भने सार्वजनिक भएको छैन । 

तालेवानले विद्युत सवस्टेशनमा आक्रमण गरेपछि हेलमन्द र कान्दाहार प्रान्तका अधिकांश भूभागमा विद्युत सेवा अवरुद्ध छ । अधिकांश दूरसञ्चार सेवा समेत बन्द छन् । कतारमा गत महिना दुई पक्षबीच शान्ति वार्ता शुरु भएपछि पहिलोपटक भीषण भीडन्त भएको हो । अमेरिकी सेनाको सहयोगमा अफ्गानिस्तानले आक्रमण जारी राखेको छ ।

यसअघि अफ्गानिस्तानमा रहेको नेटो गठबन्धनका प्रमुख अमेरिकी जेनरल स्कट मिलरले गत फेब्रुअरी भएको सहमतिको तालेवानले उल्लंघन गरेको आरोप लगाउनुभएको थियो । 


प्रतिक्रिया