थाईल्याण्डमा आपतकाल

आश्विन २९, २०७७ | काठमाडौं

बैंककमा सरकार बिराधी प्रदर्शन चर्कदै गएपछि थाईल्याण्ड सरकारले आपतकाल घोषणा गरेको छ । स्थानीय समयअनुसार विहीबार विहान ४ बजेदेखि लागू हुने गरी आपतकाल घोषणा गरिएको हो । 

योसँगै ४ जना भन्दा बढीलाई सार्वजनिक स्थानमा भेला हुन रोक लगाइएको छ । सञ्चारमाध्यमाथि समेत अंकुश लगाइएको छ । त्रास फैलाउने र नियोजित रुपमा सूचना तोडमडोर गर्ने, राष्ट्रिय सुरक्षा, शान्ति र सुव्यवस्थामा खलल पुर्‍याउने किसिमका समाचार प्रसारण/प्रकाशनमा रोक लगाइएको छ । 

प्रहरीले टेलिभिजनमार्फत आपतकाल घोषणा गर्दै शान्ति र सुव्यवस्था कायम गर्न यो कदम आवश्यक रहेको बताएको छ । राजाको शक्ति खुम्च्याउन तथा प्रधानमन्त्री प्रयुथ चान–ओचाको राजिनामा माग गर्दै थाईल्याण्डका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । 

थाईल्याण्डमा राजनीतिक अस्थिरता र प्रदर्शन पटकपटक हुँदै आएको छ । पछिल्लोपटक गत फेब्रुअरीमा एक अदालतले प्रजातन्त्र पक्षधर विपक्षी पार्टीलाई विघठन गर्न आदेश दिएपछि प्रदर्शन शुरु भएको हो । 


प्रतिक्रिया