आर्डनको पार्टीलाई बहुमत

कार्तिक १, २०७७

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको सत्तारुढ दल लेबरले संसदीय निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । लेबर पार्टीले ४९ प्रतिशत मत पाएको र गणना जारी रहेकाले न्युजिल्याण्डमा निकै दुर्लभ मानिएको बहुमत उसले आफ्नो पक्षमा पार्ने अनुमान गरिएको छ ।

जारी मतगणनाकै क्रममा विपक्षी दल नेसनलकी नेतृ जुडिथ कोलिन्सले हार स्वीकार्दै प्रधानमन्त्री तथा लेबर नेतृ आर्डनलाई बधाई र शुभकामना दिएकी छन् । नेसनलले २७ प्रतिशत मत प्राप्त गरेको छ । जीतपछि लेबर पार्टीको हेडक्वार्टरबाट सम्बोधन गर्दै आर्डनले आफ्नो मन्त्रीमण्डल जस्तोसुकै भएपनि काम गर्नका लागि पाएको म्यान्डेट अत्यन्तै कडा र विश्वासिलो भएको प्रतिक्रिया दिइन् । 

हरेक तीन बर्षमा हुने संसदीय निर्वाचनमा यसपटक १७ वटा राजनीतिक दलले सहभागिता जनाएका थिए । कोरोना भाइरसको संक्रमणलाई सहज रुपमा समाधान गर्न र क्राईस्टचर्चमा भएको आतंकवादी आक्रमणको घटनालाई समाधान गर्न आर्डनले खेलेको भुमिकाका कारण उनी पुन निर्वाचित हुने लगभग निश्चित जस्तै थियो ।

हरेक तीन बर्षमा हुने निर्वाचनमा १ सय २० सिटका लागि मतदान हुन्छ । विश्लेषकहरुले कम्तिमा ६४ सिट लेबरले जित्ने दाबी गरेका छन् । न्युजिल्याण्डमा बहुमतको सरकार निर्माणका लागि तल्लो सदनमा जम्मा ६१ सिट आवश्यक पर्छ । करिब ४० लाख मतदाता रहेको न्युजिल्याण्डको आमनिर्वाचनमा करिब १० लाखले अर्ली भोटिङ मार्फत् आफ्नो मत प्रकट गरिसकेका थिए । 


प्रतिक्रिया