बेलायतमा फाइजर र बायोएनटेकको खोप प्रयोगका लागि अनुमति

मंसिर १७, २०७७ | काठमाडौं

बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । योसँगै कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ ।

 करीब १० महिना लगाएर फाइजर र बायोएनटेकले विकास गरेको खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको जनाइएको छ । तर, यसलाई भण्डारण गर्न अत्यन्त न्यून तापक्रम अर्थात माइनस ७० डिग्री सेन्टिग्रेड आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ । बीबीसीका अनुसार केही दिनमै कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई खोप दिन सु्रु गरिनेछ । बेलायतले फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ ।

 यसका साथै अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज पनि यसअघि नै अर्डर गरिसकेको जनाएको छ । पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जनाएको छ । खोपको पहिलो प्राथमिकतामा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धा पर्नेछन् ।  


प्रतिक्रिया