चीनको वुहानका झण्डै पाँच लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने

पुस १५, २०७७ | काठमाडौं

कोरोना भाइरसको उद्गम थलो चीनको वुहानका झण्डै पाँच प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने एक अध्ययनले देखाएको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्टसनले गरेको अध्ययनमा एक करोड १० लाख जनसंख्या भएको वुहानका करिब पाँच प्रतिशत अर्थात झण्डै पाँच लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने उल्लेख छ ।

 सो अध्ययनमा दिइएको तथ्याङ्कमा सत्यता पुष्टि भए वुहानले यसअघि दिएको संक्रमितको आधिकारिक तथ्यांक भन्दा सो संख्या झण्डै १० गुणा बढी हुनेछ । सरकारी तथ्यांक अनुसार वुहानका ५० हजार ३ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपी सो तथ्यांकमा लक्षणबिहीन संक्रमितलाई समावेश गरिएको थिएन । अनुसन्धानकर्ताले वुहानका ४ दशमलव ४३ प्रतिशत व्यक्तिको शरीरमा एन्टीबडी विकास भएको पाइएको बताएका छन् ।

 कोरोना भाइरसको उत्पति स्थानबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय वैज्ञानिकको टोली वुहान जाने बेला अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो । आगामी महिना अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली अध्ययनका लागि वुहान जाने तयारी छ । सो टोलीले कोरोना भाइरसको उत्पत्ति हुनुको कारण खोज्नेछ । 


प्रतिक्रिया