अमेरिकी इतिहासमा दुई पटकसम्म महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति

माघ १, २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटकसम्म महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति बन्नु भएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेसंगै राष्ट्रपति ट्रम्पको नाम इतिहासमा दरिएको अलजजीराले उल्लेख गरेको छ । 

गत साता वासिङटन डिसीस्थित अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पको उक्साहटमा दंगा भड्किएको भन्दै प्रजातन्त्र पक्षधर सांसदले उहाँका विरुद्धमा प्रस्तुत गरेको महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको थियो । महाभियोग पारित हुन २ सय १७ मत आवश्यक थियो । हाउस अफ रिप्रेजेन्टेटिभ्सका २ सय २२ जना प्रजातन्त्र पक्षधर सदस्य र राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेका थिए । अमेरिकी संसदको तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ ।

यसअघि अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले सन् २०१९ मा पनि राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग पारित गरेको थियो । तर सिनेटले निर्दोष ठहर्‍याएपछि राष्ट्रपति ट्रम्प जोगिनु भएको थियो । अमेरिकाको इतिहासमा सन् १९९८ मा राष्ट्रपति बिल क्लिन्टन र सन् १८६८ मा राष्ट्रपति एन्ड्रयु जोनसन विरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोग पारित गरेको थियो ।


प्रतिक्रिया