भारतमा कोरोना भाइरसको खोप लगाएका ९७ प्रतिशत बढी मानिस सन्तुष्ट

माघ २८, २०७७ | काठमाडौं

भारतमा कोरोना भाइरसको खोप लगाएका ९७ प्रतिशत बढी मानिसले सन्तुष्टी व्यक्त गरेका छन् । भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्याङ्क मापन प्रणाली आरएएस मार्फत संघीय स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षणमा खोप लगाएका मानिसले व्यक्त गरेको प्रतिक्रियाका आधारमा ९७ दशमलव ३५ प्रतिशत मानिस सन्तुष्ट रहेको पाइएको हो ।

 खोप लगाउने क्रममा ९७ दशमलव ३१ प्रतिशतले भौतिक दुरी कायम राखेको, ९८ दशमलव ३७ प्रतिशतले आफूहरुलाई खोपबारे सबै पूर्व जानकारी दिइएको लगायतका प्रतिक्रिया दिएका थिए । सो प्रणाली कोभिड–१९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो जुन गत जनवरी १७ बाट सुरु गरिएको थियो ।

स्वास्थ्य सचिव राजेश भूषणका अनुसार खोप लगाएका सबै व्यक्तिलाई निजी एसएमएस पठाएर व्यक्तिको नाम, खोपको मात्रा र प्रतिक्रियाको लागि अनुरोध गरिएको थियो जसमा विभिन्न ५ प्रश्न सोधिएका थिए । खोप लाभग्राहीले दिएको जवाफका आधारमा नतिजा सार्वजनिक गरिएको हो । भारतमा स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिने र संक्रमणको जोखिमपूर्ण स्थानमा काम गर्ने व्यक्तिलाई प्राथमिकताका आधारमा खोप लगाउने क्रम जारी छ ।   


प्रतिक्रिया