उत्तर कोरियाले खोप बनाउने प्रविधि चोर्न खोजेको दक्षिण कोरियाको आरोप

फाल्गुन ५, २०७७ | काठमाडौं

अमेरिकाको औषधी निर्माता कम्पनी फाइजरले विकास गरेको कोरोना भाइरस संक्रमण विरुद्धको खोप बनाउने प्रविधि उत्तर कोरियाले चोर्न खोजेको दक्षिण कोरियाले आरोप लगाएको छ । दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स् कमिटीले उत्तरले खोप निर्माणको प्रविधि चोरी गर्न खोजेको आरोप लगाएको हो । सन् २०१९ को अन्त्यमा चीनमा कोरोना संक्रमण देखिएसँगै उत्तर कोरियाले सन् २०२० को जनवरीबाटै आफ्ना सम्पूर्ण सीमा नाका बन्द गरेको थियो ।

गत नोभेम्बरमा पनि फाइजरसहित विभिन्न ९ वटा स्वास्थ्य संस्थालाई रुसी र उत्तर कोरियाली कम्पनीले निशाना बनाएको दक्षिण कोरियाली अधिकारीको दाबी छ । यद्यपी दक्षिणले लगाएको आरोपबारे फाइजर कम्पनीले भने केही प्रतिक्रिया जनाएको छैन । उत्तरले पनि दक्षिणको आरोपको कुनै खण्डन नगरेको सीएनएनले उल्लेख गरेको छ । उत्तर कोरियाले अहिलेसम्म आफ्ना मुलुकमा कोरोनाको संक्रमण नदेखिएको दाबी गर्दै आएको छ ।  


प्रतिक्रिया