खसोग्गीको हत्या साउदी राजकुमारकै आदेशमा

फाल्गुन १५, २०७७ | काठमाडौं

अमेरिकामा निर्वासित जीवन बिताइरहेका साउदी अरबका लेखक एवं पत्रकार जमाल खसोग्गीको हत्या राजकुमारकै आदेशमा भएको अमेरिकाले जनाएको छ । अमेरिकाको गुप्तचर विभागले तयार पारेको प्रतिवेदनमा सन् २०१८ मा भएको खसोग्गीको हत्याका लागि राजकुमार मोहम्मद विन सलमानले अनुमति प्रदान गरेको उल्लेख छ । 

अमेरिकाका राष्ट्रपति जो बाईडेन प्रशासनले सार्वजनिक गरेको प्रतिवेदनमा राजकुमारले खसोग्गीलाई नियन्त्रणमा लिने वा हत्या गर्ने योजना स्वीकृत गरेको उल्लेख छ । यो घटनालाई लिएर अमेरिकाले साउदीका दर्जनौं अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको छ । तर, साउदी राजकुमार माथि भने प्रतिबन्ध लगाइएको छैन । 

साउदी अरबले सो प्रतिवेदन गलत र नकारात्मक भएको भन्दै अस्वीकार गरेको छ । राज्यको आगामी शासकका रुपमा हेरिएका राजकुमारले खसोग्गी हत्यामा आफ्नो कनै संलग्नता नरहेको बताउँदै आएका छन् । टर्कीको इस्तानबुलस्थित साउदीको कूटनीतिक नियोगमा गएका बेला खसोग्गीको हत्या भएको थियो । 

कुनै समय साउदी सरकारको सल्लाहकार समेत रहेका खसोग्गी शाही परिवारसँग निकट थिए । तर, विभिन्न असन्तुष्टीका कारण त्यहाँबाट बाहिरिएका उनी सन् २०१७ मा अमेरिकामा स्वघोषित निर्वासनमा गएका थिए । त्यहाँ रहँदा उनले वासिङ्गटन पोष्टमा मासिक स्तम्भ लेख्दै आएका थिए । जसमा उनले राजकुमार मोहम्मदको नीति लगायतको आलोचना पनि गरेका थिए । 


प्रतिक्रिया