निकोलस सार्कोजीविरुद्ध ३ बर्षको जेलसजाय

फाल्गुन १८, २०७७ | काठमाडौं

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार मुद्दामा ३ बर्षको जेलसजाय सुनाइएको छ । सन् २०१४ मा एक न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको ठहर गर्दै अदालतले सार्कोजीलाई ३ बर्षको जेलसजाय सुनाएको हो । 

सार्कोजीले न्यायाधीशलाई एउटा फौजदारी मुद्दाबारेको सूचना दिए मोनाकोमा आकर्षक जागिर दिने प्रलोभन देखाएको अदालतको ठहर छ । यद्यपि उनले जेलमा भने समय बिताउनु नपर्ने जनाइएको छ । उनको दुई वर्षको सजाय निलम्बन गरिएको छ र उनलाई एक वर्षसम्म हातमा विद्युतीय धातु लगाएर घरमै बस्न दिन सकिने अदालतले जनाएको छ । तर यसबारे अर्का न्यायाधीशले अन्तिम फैसला सुनाउने जनाइएको छ ।

सार्कोजीविरुद्धको मुद्दालाई फ्रान्समा निकै महत्वका साथ हेरिएको थियो । उनी जेल सजाय भोग्ने गरी सजाय पाउने पहिलो फ्रान्सेली पूर्वराष्ट्रपति समेत भएका बीबीसीले उल्लेख गरेको छ । यसअघि फ्रान्सका पूर्वराष्ट्रपति ज्याक सिराकलाई पेरिसको नगरप्रमुख हुँदा कार्यकर्तालाई जागिर दिएको आरोपमा सन् २०११ मा दुई वर्षको निलम्बित सजाय दिइएको थियो । ६६ वर्षीय सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए । सार्कोजीका पूर्ववकिल र ती न्यायाधीशलाई पनि उस्तै प्रकृतिको सजाय सुनाइएको छ । सजायविरुद्ध सार्कोजीसहित तीनै जनाले अपिल गर्ने तयारी गरेका छन् । 


प्रतिक्रिया