सिरियामा बन्धक बनाइएका हजारौं सर्वसाधारणको अवस्था अज्ञात : राष्ट्रसंघ

फाल्गुन १८, २०७७ | काठमाडौं

सिरियामा एक दशक लामो गृहयुद्धका क्रममा बन्दी बनाइएका दशौं हजार सर्वसाधारणको अवस्था अझै अज्ञात रहेको संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताले बताएका छन् । 

सिरियामा भएको अपराध सम्बन्धमा राष्ट्रसंघले जारी गरेको अनुसन्धान प्रतिवेदनमा अन्य हजारौंलाई बन्धक बनाइएकै स्थानमा हत्या गरेको वा याताना दिइएको उल्लेख छ । बालबालिकामाथि बलात्कार तथा यौन शोषणले अकल्पनीय पीडा दिएको पीडित र प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रतिवेदनमा जनाइएको छ ।

यी मुद्दा तत्काल सम्बोधन गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । राष्ट्रसंघीय मानव अधिकार परिषद्को एउटा स्वतन्त्र कमिटीले सिरियाका १ सय बढी बन्दीगृहमा गरेको अध्ययन र झण्डै ३ हजारसँग गरेको कुराकानीका आधारमा प्रतिवेदन तयार पारेको हो । 

सरकारी सुरक्षाफौजले राजनीतिक विपक्षी, पत्रकार, मानवअधिकारकर्मी र प्रदर्शनकारीलाई मनोमानी ढङ्गले बन्दी बनाउनु नै युद्ध चर्कनुको प्रमुख कारण रहेको अनुसन्धानको नेतृत्व गरेका पौलो पिन्हिरोले बताउनुभयो ।

सन् २०११ को मार्चमा भएको सरकारबिरोधी प्रदर्शनमा राष्ट्रपति बसर अल असदले बल प्रयोग गरेपछि हिंसा भड्कीदा कयौंले ज्यान गुमाएका थिए । सोही समयदेखि सिरियामा शुरु भएको द्वन्द्व चर्किदै जादा हालसम्म ३ लाख ८० हजार जनाले ज्यान गुमाइसकेका छन् । कुल जनसंख्याको करिब आधा बिस्थापित भएका छन् । जसमध्ये ६० लाखले अन्य मुलुकमा शरण लिइरहेका छन् ।   


प्रतिक्रिया