चीनद्वारा सन् २०२१ मा ६ प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक

फाल्गुन २१, २०७७ | काठमाडौं

चीनले सन् २०२१ मा ६ प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीको समीक्षा र भावी योजना तय गर्न आवहन गरिएको नेशनल पिपल्स कंग्रेसको बैठकमा प्रधानमन्त्री ली खछ्याङले यो आर्थिक वर्षमा ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने योजनाबारे जानकारी गराउनुभएको हो । 

पछिल्लो लक्ष्य निर्धारण गर्दा आर्थिक पुर्नउत्थानलाई ध्यानमा राखेको र ६ प्रतिशत भन्दा बढीको लक्ष्यले कोभिडपछिको आर्थिक सुधार, नवीनता र विकासलाई बढावा दिन मद्दत गर्ने प्रधानमन्त्री लीको भनाई थियो । यो वर्ष थप १ करोड १० लाख शहरी रोजगारी सिर्जना गर्ने लक्ष्य चीन सरकारको छ । गत वर्ष ९० लाख शहरी रोजगारी सिर्जना गर्ने चीनको लक्ष्य थियो । 

 बैठकमा प्रधानमन्त्री ली ले सन् २०२० मा आर्थिक वृद्धि गर्ने संसारका ठूला अर्थतन्त्रमा चीन एक्लो रहेको दाबी समेत गर्नुभएको छ । सन् २०२० को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतमा संकुचित बनेको थियो । तर दोस्रो त्रैमासिकमा भने अर्थतन्त्र केही उकासिएको थियो । कोरोना भाइरसको महामारीले विश्वका सबै ठूला अर्थतन्त्र शिथिल बनेका बेला चीनले गत वर्ष २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । यद्यपी अन्तर्राष्ट्रिय मुद्रा कोषले भने यो वर्ष चीनको आर्थिक वृद्धिदर ८ दशमलव १ प्रतिशत सम्म पुग्ने अनुमान गरेको थियो ।


प्रतिक्रिया