मोजाम्बिकमा मुस्लिम चरमपन्थी विद्रोहीद्वारा बालबालिकाको निर्मम हत्या

चैत्र ३, २०७७

दक्षिण अफ्रिकी मुलुक मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुस्लिम चरमपन्थी विद्रोहीहरूले बालबालिकाको निर्मम हत्या गरिरहेको एक प्रतिवेदन सार्वजनिक भएको छ । सेभ द चिल्ड्रनले काबो डेलगाडो बाट भागेर शरण लिन विभिन्न शिविरमा पुगेका व्यक्तिहरूले दिएको बयानका आधारमा सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा इस्लामिक स्टेटसँग सम्वद्ध आतंकवादीहरुले घाँटी रेटेर हत्या गर्ने गरेको उल्लेख छ ।

सेभ द चिल्ड्रनका अनुसार सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ २ हजार ५ सय भन्दा बढी मानिसको हत्या भएको छ । जसमध्ये अधिकांश बालबालिका छन् । अन्य ७ लाखभन्दा बढी मानिस त्यहाँबाट विस्थापित भई अन्यत्र भागेका छन् । प्रतिवेदनमा एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नै आँखा अगाडी १२ वर्षीय छोराको हत्या भएको बताएकी छिन् । यस्तै अर्की एक महिलाले पनि आफ्नो ११ वर्षिय छोरीको निर्मम हत्या भएको बताएकी छिन् ।

 आतंकवादीहरुले दुव्यर्वहार गर्ने, घरमा आगो लगाइदिने, विशेषगरी बालबालिकाको हत्या गर्ने लगायतका अराजक गतिविधि गर्ने गर्ने प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।   


प्रतिक्रिया