जापानको एक अदालतको ऐतिहासिक फैसला : 'समलैंगिक विवाहलाई वैधता प्रदान नगर्नु असंवैधानिक'

चैत्र ४, २०७७ | काठमाडौं

जापानको एक जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै समलैंगिक विवाहलाई वैधता प्रदान नगर्नु असंवैधानिक भनेको छ । जापानको सापोरो अदालतले समलैंगिक विवाह सम्बन्धी एक मुद्दाको फैसला सुनाउँदै भनेको छ : 'समलैंगिक विवाहलाई वैधानिकता प्रदान नगर्नु असंवैधानिक कदम हो।'  जापानको संविधानले विवाहलाई दुई फरक लिंग बीच हुने मात्रै भनी व्याख्या गरेको छ । जापानको सापोरो अदालतको फैसलालाई जापानका एलजीबीटीक्यू समुदायको सांकेतिक जितका रुपमा लिइएको छ । पत्रकार र एलजीबीटीक्यू अधिकार विज्ञ युजी कितामारूले अदालतको निर्णय अति उत्तम, रणनीतिक र एलजीबीटीक्यू विरोधी सिद्धान्तहरूको विरूद्ध पहिलो कानुनी आधार भएको बताउनुभएको छ । 

 समलैगिंक दम्पतीहरुले आफूले भोग्नु परेको मानसिक पीडाको क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले उनीहरुले माग गरे अनुसार ९ हजार डलर क्षतिपूर्तिको पक्षमा फैसला नगरे पनि विवाहलाई स्वीकृति नदिनु असंवैधानिक रहेको भन्दै फैसला गरेको हो । विश्वका विकसित राष्ट्रहरुको समूह जी सेभेनमा रहेका मध्ये जापानमा मात्र समलैंगिक विवाहलाई मान्यता दिइएको छैन ।

 सन् २०१५ यता जापानका केही शहरहरुले समलैगिंक विवाह दर्ताको प्रमाणपत्र जारी गर्दै आएको भएपनि त्यसका लागि उनीहरु कानूनी रुपमा बाध्य भने नभएको बताइएको छ । रुढीवाद विचारधारा व्याप्त जापानका विभिन्न जिल्लामा समलैगिंक विवाहलाई मान्यता दिन अझै समय लाग्ने विश्लेषण गरिएको छ ।   


प्रतिक्रिया