जापानले म्यानमारलाई आर्थिक सहायता नगर्ने

चैत्र १८, २०७७ | काठमाडौं

जापानले म्यानमारलाई तत्काल कुनैपनि नयाँ आर्थिक सहायता नदिने भएको छ । म्यानमारमा जारी सैन्य कूविरुद्ध जापानले पछिल्लो कदम चालेको हो । जापानका विदेश मन्त्री तोसिमिट्सु मोतेगीले म्यानमारका लागि उपलब्ध गराउँदै आएको आर्थिक सहायताको निरन्तरता भंग गरेको र तत्काल कुनै पनि नयाँ सहायता उपलब्ध नगराउने विषयमा आफू प्रष्ट रहेको बताउनुभयो । 

नयाँ आर्थिक सहायता उपलब्ध नगराएपनि यसअघि म्यानमारलाई उपलब्ध गराउँदै आएका आर्थिक सहायता भने जापानले यथावत राखेको जापानी सञ्चारमाध्यमलाई उल्लेख गर्दै बीबीसीले उल्लेख गरेको छ । म्यानमारका लागि जापान सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्र हो । यसअघि अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ता विद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन् । 

म्यानमारमा जारी सैन्य कूविरुद्धको आन्दोलनमा हालसम्म ५ सय भन्दा बढीको ज्यान गएको छ । सयौं घाइते भएका छन् । नागरिक विरुद्ध दमनको नीति लिएको सैन्य सरकारले सर्वसाधारणको हत्या गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सैन्य सरकारको चर्को आलोचना गरिरहेका छन् ।  


प्रतिक्रिया