भारतमा पछिल्लो २४ घण्टामा मात्रै ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि

चैत्र २०, २०७७ | काठमाडौं

भारतमा कोरोना संक्रमितको संख्या तीव्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ । 

यो संख्या यो वर्षको सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा ४ सय ६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको छ । पछिल्ला दिनहरूमा संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भारतीय अधिकारीहरूले जनाएका छन् । 

भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार नाघेको छ । भारतको महाराष्ट्र राज्यमा मात्रै पछिल्लो २४ घण्टामा ४३ हजार १ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना महामारी सुरु भएपछि महाराष्ट्रमा एकैदिन सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । महाराष्ट्रको राजधानी मुम्बईमा मात्रै पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये १ करोड १४ लाखभन्दा बढी संक्रमणमुक्र भइसकेको मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म ६ करोड ८७ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । 


प्रतिक्रिया