टोकियो ओलम्पिक रद्द गर्न सुझाव

वैशाख २, २०७८ | काठमाडौं

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडिपीका प्रभावशाली नेताहरुले टोकियो ओलम्पिक रद्द गर्न सुझाव दिएका छन् । एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले संक्रमण तीव्र बन्दै गएकोले बिना हिच्किचाहट टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताउनुभएको अलजजिराले जनाएको छ ।

 ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न गर्नु जापानका लागि ठूलो अवसर भएतापनि तत्कालको अवस्थामा धेरै विषयमा सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । यस्तै जापानमा खोप अभियानको नेतृत्व गरिरहनुभएका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक भइहालेपनि सबै खेल खाली रंगशालामा खेलाइने बताउनुभएको अलजजिराले उल्लेख गरेको छ ।

 यद्यपी आयोजकले भने आगामी ओलम्पिक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्णरुपमा प्रतिबद्ध रहेको जनाएको छ । जापानमा पछिल्लो पटक कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा जापानको ओशाकामा एक हजार एक सय भन्दा बढी नयाँ संक्रमित भेटिएका थिए । जुन गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो । गतवर्ष कोरोनाको संक्रमण तीव्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । 


प्रतिक्रिया