अमेरिकाले चालू आर्थिक वर्षमा ६२ हजार भन्दा बढी शरणार्थीलाई वैधता दिने

वैशाख २१, २०७८ | काठमाडौं

अमेरिकाले चालू आर्थिक वर्षमा ६२ हजार भन्दा बढी शरणार्थीलाई वैधता दिने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले चालू आर्थिक वर्षमा ६२ हजार ५ सय शरणार्थीलाई वैध रुपमा स्वीकार्ने र आगामी वर्षमा भने एक लाख २५ हजारसम्म शरणार्थीलाई अमेरिकामा अनुमति दिने निर्णय गर्नुभएको हो । 

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकै प्रशासनले तय गरेको १५ हजार शरणार्थीलाई मात्रै शरण दिने नीतिलाई निरन्तरता दिएका बाइडेनको चर्को आलोचना भएपछि उहाँले पछिल्लो निर्णय गर्नुभएको हो । यद्यपी यसअघि नै ट्रम्प प्रशासनले बजेट र कर्मचारीमा भारी कतौटी गरेकोले अर्को आर्थिक वर्षको सुरुवातसम्ममा ६२ हजारको शरण स्वीकार गर्न सकिने सम्भावना न्यून रहेको बाइडेन प्रशासनले स्वीकारेको छ । 

बाइडेन प्रशासनले ट्रम्प प्रशासनले विगत ४ वर्षसम्म गरेको क्षतिको पूर्ति गरी तत्काल सम्पूर्ण परिवर्तन सम्भव नभएको भन्दै आफूहरुले सो सम्बन्धमा काम गरिरहेको जनाएको छ । बाइडेनले आफ्नो कार्यभार सम्हालेको पहिलो दिन गरेको घोषणामा १ लाख २५ हजार शरणार्थीलाई वैधता दिने घोषणा गर्नुभएको थियो । अमेरिकामा अर्को आर्थिक वर्ष आगामी अक्टोबरमा सुरु हुनेछ ।  


प्रतिक्रिया