वयस्क र बालबालिकाका लागि खोप बिस्तार गर्ने राष्ट्रपति बाइडेनको लक्ष्य

वैशाख २२, २०७८ | काठमाडौं

अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्मसम्म ७० प्रतिशत वयस्कलाई कोरोना भाइरस विरुद्धको खोप दिने नयाँ योजना सार्वजनिक गर्नुभएको छ । १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई समेत छिटो खोप उपलब्ध गराउने गरी तयारी भइरहेको राष्ट्रपति बाइडेनले बताउनुभयो । 

नयाँ योजना अनुसार आगामी जुलाई ४ मा स्वतन्त्रता दिवससम्ममा १६ करोड वयस्कलाई खोपको दुबै डोज उपलब्ध गराईनेछ । नयाँ लक्ष्य सार्वजनिक गर्दै राष्ट्रपति बाइडेनले दुई महिनापछि मुलुकको स्वतन्त्रता दिवसलाई भाइरसबाट समेत स्वतन्त्र भएको दिनका रुपमा मनाउने बताउनुभयो । 

अमेरिकामा हालसम्म १० करोड ५० लाखलाई कोरोना विरुद्धको खोप दिइएको छ । पछिल्लो समय त्यहाँ दैनिक झण्डै १० लाखलाई खोप दिईंदैछ । अमेरिकाको खाद्य तथा औषधि विभागले १२ वर्षदेखिका बालबालिकालाई समेत खोप दिन फाइजरलाई अनुमति दिने तयारी गरेको छ । 

अनुमति प्राप्त गरेलगत्तै खोप अभियान सुरु गर्ने राष्ट्रपति बाइडेनले बताउनुभयो । हाल १६ वर्षमाथिकालाई लगाउन सो खोपले अमेरिकामा अनुमति पाइसकेको छ । 

हालसम्म सबैभन्दा बढी खोप प्रदान गर्ने इजरेलको अर्थतन्त्र करीब पूर्ण रुपमा खुला भइसकेको छ । अमेरिकाका ६० प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया