भारतमा एकैदिन ३ हजार ७ सय ८० जनाको मृत्यु

वैशाख २२, २०७८ | काठमाडौं

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार उकालो लागिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । 

यसअघि भारतमा गत आइतबार कोरोनाले ३ हजार ६ सय ८९ को मृत्यु भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि अघिल्लो दिन ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो । भारतमा अहिलेसम्म २ करोड ६ लाख ६५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ६९ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार १ सय ८८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १५ लाख ४१ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो ।

 भारतमा हालसम्ममा करिब १६ करोड ५ लाख डोज खोप लगाइएको छ । भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।


प्रतिक्रिया