क्यानडामा बालबालिकामा फाइजर खोप प्रयोगका लागि अनुमति

वैशाख २३, २०७८ | काठमाडौं

क्यानडाले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा कोरोना भाइरस विरुद्धको फाइजर खोप प्रयोगका लागि अनुमति दिएको छ । सो उमेर समूहलाई खोप स्वीकृत गर्ने क्यानडा विश्वको पहिलो मुलुक हो । 

अमेरिकामा बनेको फाइजर खोपको निर्माताले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा गरेको परीक्षणको नतिजा अनुसार क्यानडाले खोप सुरक्षित रहेको भन्दै अनुमति दिने निर्णय गरेको हो । विभिन्न चरणको अध्ययनपछि फाइजरले सो उमेर समूहका लागि समेत खोप प्रभावकारी रहेको दाबी गरेको छ । 

क्यानडामा १६ वर्ष माथिका सबैलाई फाइजर खोप लगाउन अनुमति दिएको छ । क्यानडाको सबैभन्दा बढी कोरोना भाइरस संक्रमण देखिएको अल्बेर्टा राज्यमा आगामी सोमबारबाट सो खोप बालबालिकालाई लगाउन सुरु गरिनेछ । त्यहाँ हालसम्म १२ लाख जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २० प्रतिशत १९ वर्ष मुनिका छन् ।

अमेरिकाले पनि १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप प्रयोगमा अनुमति दिने तयारी गरेको छ । राष्ट्रपति जो बाईडनले खोप बिस्तार लक्ष्य सार्वजनिक गर्दै १२ वर्ष माथिकालाई खोप दिन खाद्य तथा औषधि विभागले अनुमति दिए लगत्तै लगाउन सुरु गर्ने बताउनुभएको छ । 


प्रतिक्रिया