भारतमा पछिल्लो चौबीस घण्टामा ४ हजार ५ सय २९ जनाको मृत्यु

जेष्ठ ५, २०७८ | काठमाडौं

भारतमा पछिल्लो चौबीस घण्टामा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोना संक्रमण केही घटे पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

 यसअघि भारतमा गत सोमबार कोरोनाले ४ हजार ३ सय २९ को मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । केही दिनयता भारतमा संक्रमण भने घट्दै गएको छ । त्यस्तै पछिल्ला दिनमा दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि बढेको छ ।

 भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ५४ लाख ९६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड २० लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २ सय ४८ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख भन्दा बढी छ । भारतमा सोमबारसम्ममा करिब १८ करोड ५८ लाख डोज खोप लगाइएको छ ।


प्रतिक्रिया