कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीनको आपत्ति

जेष्ठ १४, २०७८ | काठमाडौं

कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकाको निर्णयप्रति चीनले आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाले कोरोना संक्रमणलाई राजनीतिक मुद्दा बनाएको र अरुलाई दोष लगाएको भन्दै कडा शब्दमा आलोचना गरेको हो । 

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९को संक्रमण चिनियाँ प्रयोगशालाबाट भएको हो वा होइन भन्नेबारेमा अमेरिकी गुप्तचर निकायहरुले गर्ने अध्ययन प्रतिवेदन छिट्टै सार्वजनिक हुने अपेक्षा व्यक्त गरेको प्रतिक्रिया दिएपछि चीनले त्यसप्रति आपत्ति जनाएको हो । तर चीनको विदेश मन्त्रालयले भने कोभिड–१९ र चीनको प्रयोगशालाका बीचमा कुनै पनि सम्बन्ध नरहेको बताएको छ । सन् २०१९ को अन्त्यबाट चीनको वुहानमा देखा परेको कोभिड १९ को संक्रमणबाट हालसम्म १६ करोड ८० लाख बढीमा संक्रमण देखिएको छ भने ३५ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।

 विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसै वर्ष सुरुवातमा गरेको स्थलगत अध्ययन गर्दै चिनियाँ कुनै प्रयोगशालाबाट सो भाइरस बाहिर आउने सम्भावना एकदमै न्यून बताएको थियो । तर भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको विवरण प्राप्त भएको अमेरिकी सञ्चारमाध्यमहरुले बताउँदै आएका छन् । डब्लयूएचओले अमेरिकी गुप्तचर निकायहरूसँग भाइरस उत्पत्ति बारे थप र कुनै नयाँ प्रमाण वा सूचना भए सो उपलब्ध गराउन आग्रह गर्दै आएको छ । 


प्रतिक्रिया