अमेरिकाले ताइवानलाई कोरोना संक्रमण विरुद्धको ७ लाख ५० हजार मात्रा खोप दिने

जेष्ठ २३, २०७८ | काठमाडौं

अमेरिकाले ताइवानलाई ७ लाख ५० हजार मात्रा कोरोना संक्रमण विरुद्धको खोप दिने भएको छ । विश्वभर लाखांै मात्राको खोप वितरण गर्ने योजना बमोजम अमेरिकाले ताइवानालाई सो सहयोग गर्न लागेको हो । चीनले संक्रमण विरुद्धको खोप उपलब्ध नगराएको आरोप ताइवानले लगाएपछि अमेरिकाले सो सहयोग गरेको बीबीसीले जनाएको छ ।

 अमेरिकाका सिनेटर ट्यामी डकवोर्थले बेइजिङले आफ्नो क्षेत्र भनी दावी गरेको सो प्रजातान्त्रिक टापु ताइवान संकटमा परेकाले सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । खोपको पहिलो चरणको वितरणमा ताइवानलाई समेटिनु अमेरिकाको महत्वपूर्ण कदम भएको समेत सिनेटर डकवर्थको भनाई छ । अमेरिकाले ताइवानलाई उपलब्ध गराउने खोपको बारेमा भने केही खुलाइएको छैन । विश्वमा खोपको अभाव भएसँगै ताइवानमा समेत संक्रमण नियन्त्रण चुनौती बनिरहेको छ ।

२ करोड ३५ लाख जनसंख्या भएको ताइवानमा हालसम्म ३ प्रतिशतले खोप लगाएका छन् । जसमध्ये अधिकांश खोपको दोस्रो मात्राका लागि प्रतिक्षामा छन् । चीनले खोप परिपूर्तीमा अवरोध पुर्‍याउँदै आएको ताइवानको आरोप छ । तर चीनले भने ताइवानको आरोपको खण्डन गर्दै आएको छ । 


प्रतिक्रिया