चीनलाई पश्चिमा मुलुकका लागि सुरक्षा खतरा घोषणा गर्ने नेटोको तयारी

जेष्ठ ३१, २०७८ | काठमाडौं

उत्तर एट्लान्टिक सन्धी संगठन नेटोले चीनलाई पश्चिमा मुलुकका लागि सुरक्षा खतरा घोषणा गर्ने तयारी गरेको छ । शक्तिशाली ७ राष्ट्र जि सेभेन मुलुकले चीनमा मानवअधिकारको अवस्था तथा ताइवानलाई लिएर चीनको कदमको आलोचना गर्दै वक्तव्य जारी गरेलगत्तै नेटोले यस्तो तयारी गरेको हो ।

रुससँगको संयुक्त सैन्य अभ्यास, साईबर आक्रमण र नौसेनाको तीब्र क्षमता वृद्धिका कारण चीन खतरा बन्दै गएको नेटोको बुझाई छ । नेटोको आज बस्ने बैठकलाई महासचिव जेन्स स्टोल्टेनबर्गले निकै महत्वपूर्ण भन्नुभएको छ । आजको बैठकमार्फत नेटोले अमेरिकी राष्ट्रपति जो बाइडनलाई विश्वको शान्ति तथा लोकतन्त्रका लागि मुख्य सहयोगी आफू रहेको देखाउन खोजेको रोयर्टर्सले उल्लेख गरेको छ । 

बैठकमा चीन र उसको तीब्र रुपमा बढ्दै गएको सैन्य क्षमता सम्बन्धमा समेत छलफल हुनेछ । यसअघि हिजो जि सेभेन मुलुकहरुले झिन्झियाङ प्रान्तमा चीनबाट मानवअधिकारको गम्भिर उल्लंघन भएको भन्दै आलोचना गरेका थिए । यस्तै, हङकङलाई उच्च स्वायत्तत्रा कायम राख्न र कोरोना भाइरसको उत्पतिको पूर्ण र गहन जाँच गर्न माग गरिएको छ ।

यसैबीच, जी सेभेन राष्ट्रले राजनीतिक प्रभाव जमाउने उद्देश्यले बेइजिङ विरुद्ध विभिन्न टिप्पणी गरेको चीनले आरोप लगाएको छ । बेलायत स्थित चिनियाँ दुतावासले जी सेभेन सम्मेलनमार्फत चीनमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेको छ । 


प्रतिक्रिया