बेलायतमा जुलाई १९ पछि मात्रै सबै किसिमका प्रतिबन्ध फुकुवा गर्ने

असार १, २०७८ | काठमाडौं

कोरोना भाइरस संक्रमण जोखिम अझै कायम रहेको भन्दै बेलायतमा लकडाउन माथिको अन्तिम चरणको फुकुवा मिति सारेर जुलाई १९ सम्म पुर्‍याइएको छ । यस अघि जुन २१मा सबै किसिमका प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको थियो । 

तर संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीको संख्या यथावत रहने चिकित्सकको चेतावनी पश्चात सरकारले सो निर्णय गरेको हो । जसबाट बेलायतबासीले सामाजिक घुलमिल गर्न अझै एक महिना कुर्नुपर्ने भएको छ ।

विवाहमा सरिक हुन लगाइएको सिमितता हटाइएको छ । तर, विवाहस्थलका बारेमा भने तोकिएको स्थानमा मात्र गर्नुपर्ने प्रावधान यथावत राखिएको छ । थपिएको १ महिना लामो प्रतिवन्ध अन्तिम हुने प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको बीबीसीले जनाएको छ ।

भारतमा देखिएको डेल्टा भेरियन्टको संक्रमण बढ्दो क्रममा रहेपछि बेलायतमा प्रतिवन्ध लम्बिएको हो । 


प्रतिक्रिया