खोप कार्यक्रमको तिव्रतासँगै कोरोना संक्रमण नियन्त्रण उन्मुख

असार १, २०७८ | काठमाडौं

विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण खोप कार्यक्रमको तिव्रतासँगै नियन्त्रण उन्मुख हुन थालेको छ । अष्ट्रेलिया अमेरिका, बेलायत, युरोप, भारत लगायतका मुुलुकमा भाइरस नियन्त्रण उन्मुख बन्दै गएको छ । तर खोप कार्यक्रमलाई आवश्यकता अनुरुप संचालन गर्न नपाएको दक्षिण अफ्रिका लगायतका मुलुकमा संक्रमणले डेरा जमाउन थालेको छ ।

अष्ट्रेलियामा प्रति १० लाखमध्ये ०.४ जनामा संक्रमणदर रहेको छ । मृत्युदर भने शुन्य छ । २० प्रतिशत जनसंख्याले संक्रमण विरुद्धको खोप लगाएकोमा २.७ प्रतिशतले पूण मात्रा पाएका छन् । ब्रजिलमा गत मार्चमा प्रति १० लाख ३ सय १० जनामा देखिएको संक्रमण दर विस्तारै घ्टदै गएको छ । त्यस्तै ३ महिना अघि प्रति १० लाख १५ जना पुगेको मृत्युदर हाल ९ जनामा झरेको छ । 

हालसम्म २५ प्रतिशत जनसंख्याले खोप लगाएकामा १२ प्रतिशतले दोस्रो मात्रा पुरा गरेका छन् । प्रति १० लाखमा ६ सय ७५ पुगेको संक्रमणदर पुगेको फ्रान्समा हाल ५९ जनामा झरेको छ । त्यस्तै मृत्युदर प्रति १० लाख ५.४ जनाबाट ०.८३ प्रतिशतमा झरेको छ । हालसम्म ४५ प्रतिशत जनसंख्याले खोप पाएका छन् । २१ प्रतिशतले पुरा मात्राको खोप पाएका छन् । पछिल्लो समय पुष्टी भएका संक्रमितमध्ये ०.५ प्रतिशतमा डेल्टा भेरियन्टको भाइरस देखिएकाले जोखिम भने बढ्न सक्ने स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् ।

 फ्रान्स जस्तै जर्मनीमा पनि संक्रमणले घट्दो रुप लिइरहेको छ । गत अप्रिलमा त्यहाँ प्रति १० लाखमा २ सय ५८ जनामा देखिएको संक्रमणदर हाल २५मा झरेको छ । त्यस्तै, मृत्युदर पनि ३.२ प्रतिशतबाट १मा झरेको छ । हालसम्म ४८ प्रतिशत जनसंख्याले खोप लगाएका छन् । २५ प्रतिशतले पुरा मात्रा लगाएका छन् । चान्सलर एन्गेला मर्केलले संक्रमणको अवस्था गिर्दो क्रममा रहेपनि डेल्टा भेरियन्टको संक्रमण देखिन थालेको भन्दै सतर्क रहन चेतावनी दिनुभएको छ ।

 भारतमा प्रति १० लाख २ सय ८२ जनामा देखिएको संक्रमण हाल ६२मा झरेको छ । तर जुनको सुरुवातमा प्रति १० लाखमा ३ बाट झरेर १.८ मा पुगेको मृत्युदर गत आइतबार पुन बढेर २.६मा उक्लेसँगै ज्यान गुमाउनेको संख्यामा बृद्धि हुन थालेको छ । १ अर्ब ३० करोड जनसंख्या रहेको भारतमा हाल १४ं.५ प्रतिशतले खोप लगाएकामा ३.४ प्रतिशतले मात्र पुरा मात्रा लगाएका छन् । राष्ट्रिय रोग नियन्त्रण केन्द्रले गरेको सर्वेक्षणमा अप्रिलको सुरुवातमा देखिएको अल्फा भेरियन्टको भाइरसको स्वरुप परिवर्तन भएर डेल्टा भेरियन्टको रुपमा सक्रिय भएको छ । 

दक्षिण अफ्रिकामा गत मार्चमा प्रति १० लाख २० जनामा रहेको संक्रमणदर गत आइतबारसम्म पुग्दा १ सय २२ जनामा उक्लेको छ । त्यस्तै, मृत्युदर समेत प्रति १० लाख ०.६ बाट बढेर १.९ पुगेको छ । त्यहाँ पुष्टी भएका संक्रमित मध्ये ९० प्रतिशतमा बेटा भेरियन्ट देखिएको छ । त्यस्तै अन्य मुलुकबाट दक्षिण अफ्रिका पुग्ने मध्ये २२ जनामा डेल्टा भेरियन्टको भाइरस देखिएको छ । स्पेनमा अप्रिल अन्त्यमा प्रति १० लाख २ सय ७ पुगेको संक्रमणदर घटेर ८६मा झरेको छ । मार्चको अन्त्यमा ६.४ प्रति १० लाख पुगेको मृत्युदर समेत घटेर ०.९मा झरेको छ । युरोपमै औसतमा सबैभन्दा धेरै खोप कार्यक्रम स्पेनमा संचालन गरिएको छ ।

 हालसम्म ४५ प्रतिशतले खोप लगाएकामा २६ प्रतिशतले दोस्रो मात्रा समेत पुरा गरेका छन् । स्वीडेनमा अप्रिलको सुरुवातमा प्रति १० लाख ६ सय २५ पुगेको संक्रमणदर हाल ७६मा झरेको छ । मृत्युदर समेत अप्रत्यासित घटेर २.४ बाट ०.७२मा झरेको छ । संक्रमण उच्च विन्दुमा पुगेका बेला समेत लकडाउन नगरिएको स्वीडेनमा ४० प्रतिशतले खोप लगाएकामा २० प्रतिशतले पुरा मात्रा लगाएका छन् । 

गत साता ७१ जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएसँगै स्वीडेनमा कालो बादलको लाग्न लागेको स्वास्थ्य अधिकारीले जनाएका छन् । बेलायतमा गत मेको मध्यमा प्रति १० लाख १ सय ३ जनामा देखिएको संक्रमण हाल २२.७ जनामा झरेको छ । प्रति १० लाखमा दैनिक मृत्युदर ०.१५ छ । ६१ प्रतिशत नागरिकले खोप लगाएकामा ४१ प्रतिशतमा पूर्ण मात्राको लगाइएको छ । 

बेलायतमा पुष्टी भएका संक्रमित मध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको देखिएको छ । अमेरिकामा मध्ये अप्रिलमा प्रति १० लाख २ सय १५ पुगेको संक्रमणदर हाल ४३मा झरेको छ । अप्रिलको सुरुवातमा प्रति १० लाख ३मा रहेको मृत्युदर समेत घटेर गत आइतबारसम्म पुग्दा १मा झरेको छ । ५२ प्रतिशत जनताले खोप लगाएकमा ४३ प्रतिशतले मात्रा पुरा गरेका छन् । पछिल्लो समय पुष्टी भएका संक्रमित मध्ये १० प्रतिशतमा डेल्टा भाइरस देखिएको त्यहाँको संक्रमणरोग विज्ञले जनाएको छन ।

विश्वमा नियन्त्रण उन्मुख हुँदै गएको संक्रमण नियन्त्रणका लागि खोपनै प्रभावकारी माध्यम हुँदै गएको प्रष्ट देखिएको छ । 


प्रतिक्रिया