अमेरिकाका राष्ट्रपति बाईडेन र रुसी समकक्षी पुटिनबीच भेटवार्ता हुँदै

असार २, २०७८ | काठमाडौं

अमेरिकाका राष्ट्रपति जो बाईडेन र रुसी समकक्षी भ्ल्यादिमिर पुटिनबीच स्वीट्जरल्याण्डको जेनेभामा आज भेटवार्ता हुँदैछ । वासिङटन र मस्कोबीच पछिल्ला वर्षहरुमा जारी तनावपछि दुई राष्ट्रका प्रमुखबीच उच्चस्तरीय भेटवार्ता हुन लागेको हो । 

यद्यपि, वार्ताबाट ठोस सहमतिको आशा गर्न नसकिने अमेरिकी अधिकारीहरुले बताएका छन् । उनीहरुले भनेका छन्, ‘राष्ट्रपति बाईडेन र समकक्षी पुटिनबीच कम्तिमा ४ देखि ५ घण्टा वार्ता हुनेछ तर त्यस्तो ठूलो निष्कर्ष निस्कने आशा गरेका छैनौं ।’

अमेरिकामा गत जनवरीमा बाईडेन राष्ट्रपति भएपछि रुसी समकक्षीसँग पहिलो पटक औपचारिक भेटवार्ता हुन लागेको हो । जेनेभा वार्ताप्रति दुबै राष्ट्रपति भने आशावादी देखिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

बाईडेन–पुटिन वार्ताले दुई मलुकबीचको सम्बन्धलाई स्थिर राख्ने वा अगाडि बढाउने भन्ने विषय निऱ्योल गर्ने अपेक्षा गरिएको छ । सिरिया र युक्रेनको विषयमा आ–आफ्नै अडानले वार्तालाई भने प्रभावित गर्न सक्ने अधिकारीहरुको भनाई छ । यद्यपि, विभिन्न असहमतिका बावजुद दुबै मुलुकले सहमतिको मध्यामार्गी बाटो खोज्न सक्ने रोयटर्सले उल्लेख गरेको छ । 


प्रतिक्रिया