'ओबामा केयर' विरुद्ध ट्रम्प समर्थित चुनौती तेस्रो पटक खारेज

असार ४, २०७८ | काठमाडौं

अमेरिकी सर्वोच्च अदातलद्वारा ओबामा केयर विरुद्ध ट्रम्प समर्थित चुनौती तेस्रो पटक खारेज गरिदिएको छ । सर्वोच्च अदालतमा ७ जना न्यायाधिसहरु ओबामा केयरको समर्थनमा र २ जना न्यायाधिसहरु विरोधमा देखिएका थिए ।

 ट्रम्प प्रशासन अन्तर्गतका टेक्सास र अन्य रिपब्लिकन नेतृत्वका राज्यहरुले ओबामा केयरबिरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दामा प्रस्तुत गरिएका तर्क तथा प्रमाणहरु कमजोर भएको र मुद्दा दायर गर्ने राज्य वा व्यक्ति कोही कसैले पनि ओबामा केयरका कारण ठूलो नोक्सान हुने प्रमाणित गर्न नसकेको अदालतको फैसलामा उल्लेख छ ।

 सर्बोच्चले मुद्दा खारेज गरेसँगै स्वास्थ्य सुधार योजनाले निरन्तरता पाउने भएको हो । अमेरिकाको स्वास्थ्य प्रणालीमा ओबामा केयर निकै महत्वपूर्ण रुपमा लिने गरिन्छ । सन् २०१० मा तत्कालिन राष्ट्रपति बराक ओबामाले यस सम्बन्धि कानूनमा हस्ताक्षर गरेका थिए । आधिकारिक रुपमा अफोर्डेबल हेल्थ केयरका रुपमा चिनिने ओबामा केयरविरुद्ध सुरुबाटै रिपब्लिकनहरुले चुनौती दिँदै आएका थिए । निम्न आय भएका ३ करोड १० लाख अमेरिकी जनतालाई सो कानुनले मेडिकल बिमामा पहुँच गराएको ह्वाइट हाउसलाई उद्धत गर्दै बीबीसीले जनाएको छ । सन् २०१६मा राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ट्रम्पले ओबामा केयर खारेज गर्ने बताउनुभएको थियो । 


प्रतिक्रिया