इजरेलले ६० बर्षमाथिका नागरिकलाई तेश्रो मात्रा खोप दिदै

श्रावण १५, २०७८ | काठमाडौं

इजरेलले ६० बर्षमाथिका आफ्ना नागरिकलाई कोभिड १९ विरुद्धको खोपको तेश्रो मात्रा लगाउने भएको छ । विश्वमै पहिलो पटक कुनै पनि मुलुकले तेश्रो मात्राको खोप कार्यक्रम सार्वजनिक गरेको हो । 

फाइजर खोपको दोश्रो मात्रा लगाएको ५ महिना भएका ब्यक्तिलाई तेश्रो मात्राको बुष्टर डोज लगाउने इजरेली प्रधानमन्त्री नाफात्ली बेनेटले बताउनुभएको छ । इजरेलका राष्ट्रपति आइज्याक हर्जोगले आज तेश्रो मात्राको पहिलो खोप लगाउनुहुनेछ । इजरेलसहित विश्वभर अति संक्रामक डेल्टा भेरियन्टको खतरा बढेसँगै इजरेलले बुष्टर डोजको कार्यक्रम सार्वजनिक गरेको हो । 

समयसँगै खोपले प्रदान गरेको प्रतिरक्षा प्रणाली कम हुंदै जाने भएकाले बुष्टर डोज प्रभावकारी हुने वैज्ञानिकहरुले बताएका छन् । इजरेल विश्वमै कोरोना भाइरसलाई न्यूनीकरण गर्न सफल मुलुक मध्ये पर्दछ । त्यहाँका ९३ लाख जनसंख्या मध्ये आधाभन्दा बढीले खोप लगाइसकेका छन् ।

यसैबीच, अमेरिकामा खोप लगाएबापत सरकारले १ सय डलर प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । खोप लगाउन जनतालाई उत्साहित गर्ने उद्देश्यले अमेरिका सरकारले १ सय डलर प्रदान गर्ने घोषणा गरेको हो । खोप दर न्युन रहेका क्षेत्रमा संक्रमण पुन: बढ्न थालेपछि अमेरिका सरकारले यस्तो निर्णय गरेको हो ।  


प्रतिक्रिया