अष्ट्रेलियामा अब सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने, नेपाली विद्यार्थी समेत लाभान्वित हुने

रेडियो कान्तिपुर संवाददाता

माघ ५, २०७८ | काठमाडौं

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको छ । कोरोनाका कारण प्रमुख तथा अत्यावश्यक क्षेत्रमा कामदारको अभाव हुन थालेपछि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसाको सिमा भन्दा बढी काम गर्न दिने भएको हो । 

कोरोना भाईरसका कारण अष्ट्रेलियाको स्वास्थ्य, कृषि तथा ग्रामिण क्षेत्रमा जनशक्ति अभाव भएको भन्दै पढाई अवधि भन्दा बाहेक विद्यार्थीहरुलाई २० घण्टा भन्दा बढी समय काम गर्न दिइने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभयो । 

आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले आगामी आठ साताभित्र अष्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरुले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गर्नुएको छ । अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने कामदारको भिसा शुल्क फिर्ता गर्ने गरिने भएको हो । विद्यार्थीले भिसा शुल्क वापत  ६ सय ३० डलर तिर्ने गरेका छन् । 

अष्ट्रेलियाको यो नियमले हजारौं नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुनेछन् । हाल त्यहाँ विद्यार्थीहरुले सातामा २० घण्टा मात्रै काम गर्न पाउने व्यवस्था छ ।



प्रतिक्रिया