पश्चिमा देशले रुसविरुद्ध लगाएका प्रतिबन्ध 'विवेकहीन कार्य' : पुटिन

असार ४, २०७९ | काठमाडौं

युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवेकहीन कार्यको संज्ञा दिनुभएको छ । सेन्ट पिटर्सबर्गमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले पश्चिमा मुलुकको कदमको चर्को आलोचना गर्नुभयो ।

 पुटिनले भन्नुभयो, 'रुसविरुद्ध प्रतिबन्ध लगाउने देशकै लागि सो निर्णय अधिक हानिकारक हुनेछ ।' पश्चिमी राष्ट्रले रुसले युक्रेनमाथि जारी राखेको आक्रमणको विरोधमा कयौं प्रतिबन्धहरु लगाएका छन् हालसम्म ५० बढी मुलुकले रुसमाथि प्रतिबन्ध लगाएका छन् । राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण यूरोपियन यूनियन आबद्ध विभिन्न २७ मुलुकले ४ सय अर्ब डलरभन्दा बढी घाटा व्यहोर्नुपर्ने दाबी गर्नुभयो ।

 खाद्य संकटबारे बोल्दै उहाँले रुसले अझै ५ करोड टन खाद्यन्न निर्यातको क्षमता राख्ने बताउनुभयो ।प्रतिबन्धका कारण आफ्नो मुलुकलाई केही फरक नपरेको र आगामी दिनमा पनि कुनै बेफाइदा नहुने पुटिनको दाबी थियो । यद्यपि पुटिन निकटस्थ अधिकारीहरुले भने पश्चिमा राष्ट्रको प्रतिबन्धका कारण रुसी अर्थतन्त्रमाथि गम्भीर क्षति परिरहेको बताउँदै आएका छन् ।  


प्रतिक्रिया