बिहारमा नीतीशले तोडे बीजेपीसँगको गठबन्धन

रेडियो कान्तिपुर संवाददाता

श्रावण २४, २०७९ | काठमाडौं

भारतीय जनता पार्टी (बीजेपी) सँगको गठबन्धन त्याग्दै भारत बिहारका मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिनुभएको छ । पटनास्थित राजभवन पुगेर मुख्यमन्त्री नीतिशले राज्यपाल फागु चौहानलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बीजेपी नेतृत्वको गठबन्धन छाड्ने सहमति सबै सांसदहरुबीच भएको बताउनुभयो ।

 बीजेपीसँगको सहकार्य तोड्दै नीतीशले राष्ट्रिय जनता दल, भारतीय राष्ट्रिय कांग्रेस र वाम दलहरुको समर्थनमा सरकार बनाउने तयारी गर्नुभएको छ । पटक–पटक सरकार बनाउनका लागि गठबन्धन फेरिरहने नीतीश राष्ट्रिय जनता दलको समर्थनमा पुन: मुख्यमन्त्री बन्ने पक्का छ । योसँगै उहाँले भारतीय इतिहासमै सबैभन्दा बढी ८ पटक मुख्यमन्त्रीका रुपमा शपथ लिनुहुनेछ । नीतीश कुमारले विगत १५ वर्षदेखि बिहारको मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै आउनुभएको छ । 


प्रतिक्रिया