विश्वप्रसिद्ध लेखक सलमान रुस्दी भेन्टिलेटरमा

श्रावण २८, २०७९ | काठमाडौं

छुरा प्रहारबाट घाइते भएका विश्वप्रसिद्ध लेखक सलमान रुस्दीको भेन्टिलेटरमा उपचार भइरहेको छ । हिजो बिहान न्युयोर्कमा आयोजित कार्यक्रममा रुस्दीमाथि छुरा प्रहार भएको थियो । आक्रमणकारीले उहाँको घाँटीमा प्रहार गरेको थियो ।

 रुस्दीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणपछि रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको थियो । आक्रमणकारी न्युजर्सीका २४ वर्षीय हाडी मातरलाई प्रहरीले हिरासतमा लिएको छ । राल्फ हेनरी रीजसँग हुने एउटा अन्तरसंवाद कार्यक्रमका लागि उहाँ न्युयोर्कमा हुनुहुन्थ्यो । रीजको पनि अनुहारमा सामान्य चोट लागेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उहाँलेले रुस्दीमाथिको आक्रमणले अमेरिकामा रहेका लेखकहरुको सुरक्षामाथि चुनौती थपिएको बताउनुभएको छ ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’ बाट चर्चित हुनुभएको हो । सो किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । ७५ वर्षीय रुस्दीका १४ वटा उपन्यास प्रकाशित छन् । सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’ का कारण उहाँ ९ वर्षसम्म भूमिगत बस्नुपरेको थियो । पुस्तक आएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा पुस्तकका अनुवादकसहित दर्जनौं मानिस मारिएका थिए ।




प्रतिक्रिया