युक्रेनका चार क्षेत्रलाई जनमत संग्रह मार्फत आफुमा गाभ्ने रुसको तयारी

आश्विन ७, २०७९

रुसले जनमत संग्रह मार्फत युक्रेनका चार क्षेत्रलाई आफुमा गाभ्ने तयारी गरेको छ । रुसी सेनाद्वारा नियन्त्रित चार क्षेत्रहरू डोनेस्क, लुहान्स्क, खेर्सन र जापोरिजिया क्षेत्रमा जनमत संग्रहको माध्यमबाट युक्रेनी क्षेत्रको लगभग १५ प्रतिशत भुभाग रुसले गाभ्ने तयारी गरेको हो । सो कदमलाई पश्चिमा राष्ट्रले भने अन्तर्राष्ट्रिय कानूनको घोर उल्लङ्घन भनेका छन । यसले युद्धलाई थप बढवा दिने विश्लेषण हुन थालेको छ । झण्डै सात महिनाको युद्ध र पछिल्लो समय उत्तरपूर्वी युक्रेनमा एक महत्वपूर्ण भूमिको पराजयपछि, राष्ट्रपति भ्लादिमिर पुटिनले जनमत संग्रहलाई समर्थन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डोनेस्क, लुहान्स्क, जसलाई पुटिनले आक्रमण अघि भने स्वतन्त्र क्षेत्रको मान्यता दिएका थिए । खेर्सन र जापोरिजिया क्षेत्रहरूमा रुस–स्थापित प्रशासनहरूले मतदान गर्ने बताइएको छ । आजबाट सुरु हुने मतदान मंगलबार समाप्त हुनेछ । मत परिणाम चाँडै सार्वजनिक गरिने बताइएको छ । जनमत संग्रहको नतिजा पछि युक्रेनका क्षेत्रलाई औपचारिक रूपमा रुसले गाभ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्र महासभाको ७७ औं सत्रलाई यसअघी सम्बोधन गर्दै क्रेमलिनले युक्रेनका केही भागहरू गाभ्ने प्रयास गर्न एक जाली जनमत संग्रहको आयोजना गरिरहेको बताएका थिए । बाइनेनले भने, “युक्रेनमा हरेक सार्वभौम राष्ट्रको समान अधिकार छ । हामी युक्रेनसँग ऐक्यबद्धतामा उभिनेछौं ।” 


प्रतिक्रिया