हिरासतमा युवतीको मृत्युपछि इरानमा प्रदर्शन चर्कियो

आश्विन ८, २०७९

हिरासतमा रहँदा एक कुर्दिश युवतीको ज्यान गएको विषयलाई लिएर चर्किएको प्रदर्शनले इरानमा उग्ररुप लिएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि ५० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिरासतमा रहँदा गत हप्ता ज्यान गएको थियो । इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई सरकारले बन्द गरेपछि आन्दोलनले झन् उग्र रुप लिएको हो ।

इरानका महिलाहरू हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन् । टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा गत सेप्टेम्बर १३ मा अमिनीलाई प्रहरीले तेहरानमा गिरफ्तार गरेको थियो ।

हिरासत कक्षमै अचेत भएपछि उनको मृत्यु भएको थियो । अमिनीको टाउकोमा लाठी प्रहार गरिएको र प्रहरीको गाडीमा ठोक्काइएको विवरण सार्वजनिक भएको छ । यद्यपि सरकारी अधिकारीहरूले भने त्यसको खण्डन गरेका छन् । 


प्रतिक्रिया