रुसले कब्जा गरेका युक्रेनी भुभागमा जनमत संग्रह शुरु

आश्विन ८, २०७९ | काठमाडौं

रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा जनमत संग्रह सुरु भएको छ । रुसको भाग बन्ने वा नबन्ने विषयलाई लिएर नागरिकको मत संकलन सुरु भएको जनाइएको छ ।  लुहान्स्क, डोनेस्क, जापोरिजिया र खेर्सनमा सुरु भएको मतदान आगामी मंगलबारसम्म जारी रहने छ । ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशतसम्म हिंशा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको यो कदमलाई लिएर युक्रेन र पश्चिमा देशहरूले चर्को आलोचना गरेका छन् ।

 अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजना अनुसारको गैरकानुनी जनमत संग्रहबाट आउने परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ । रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो । त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण थालेको हो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै ३ लाख अतिरिक्त सेना परिचालनको घोषणा गर्नु भएको थियो । 


प्रतिक्रिया