अमेरिकाको दुई तिहाई बढी जनसंख्या शीतआँधी र अत्याधिक चिसोको चपेटामा

पुस ९, २०७९

अमेरिकाको दुई तिहाई भन्दा बढी जनसंख्या शीतआँधी र अत्याधिक चिसोको चपेटामा परेका छन् । आर्कटिक नामक शीत आँधीका कारण २४ करोड अमेरिकी नागरिक प्रभावित भएको रोयटर्सले जनाएको छ । आँधीका कारण १२ जनाको मृत्यु भएको छ । 

 सो आँधी टेक्सासदेखि मेक्सिकोको सीमासम्म ३२ सय किलोमिटर प्रतिघन्टाको वेगले फैलिरहेको राष्ट्रिय मौसम सेवा कार्यालयले जनाएको छ । राष्ट्रिय रुपमा १५ लाखभन्दा बढी मानिसहरु विद्युतको पहुँचबाट वञ्चित भएका छन् भने ८ हजार भन्दा बढी हवाई उडान रद्द गरिएको छ ।

 जसका कारण क्रिसमस मनाउन विभिन्न गन्तव्यमा जान लागेका यात्रु समेत प्रभावित भएका छन् । असुरक्षित सडक अवस्थाका कारण वाशिंगटन राज्यको किंग काउन्टीले सबै मेट्रो सेवा स्थगित गरेको छ । 

शीत आँधीले न्युयोर्क राज्यलाई असर गर्न थालेपछि त्यहाँस्थित एरी काउन्टीले सवारीसाधन चलाउन प्रतिबन्ध लगाएको छ । साउथ डेकोटा, केन्टकी लगायतका स्थानमा आँधी तीव्र गतिमा फैलिरहेको भन्दै स्थानीय प्रशासनले घरभित्रै बस्न सूचना जारी गरेको छ । ब्रिटिस कोलम्बियादेखि न्युफाउन्डल्याण्डसम्मका अधिकांश भागमा आँधीको चेतावनी दिइएको छ । आँधीको प्रभाव यो सप्ताहन्तसम्मै जारी रहने अनुमान गरिएको छ ।


प्रतिक्रिया