सन् २०२२ मा विश्वभरका १० करोड मानिस विस्थापित

पुस १३, २०७९ | काठमाडौं

सन् २०२२ मा द्वन्द्व, हिंसा लगायतका विविध कारण विश्वभरका १० करोड मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सो संख्या गत बर्ष भन्दा एक करोडले बढी हो । शरणार्थीसम्वन्धि संयुक्त राष्ट्रसंघीय निकायका अनुसार विशेषतः सिरिया, यमन, युक्रेन, इथियोपिया, बुर्किना फासो, र म्यानमार लगायत विश्वका कयौं मुलुकमा हिंसा, तथा लामो द्वन्द्वका कारण करोडौं नागरिक विस्थापित भएका हुन् । 

सो निकायका प्रमुखले द्वन्द्व, जलवायु आपतकाल र अन्य संकटका कारण विश्वभरका विस्थापित मानिसहरुको जीवनयापन अत्यन्त कष्टकर बनेको बताएका छन् । उनका अनुसार यमनमा लामो समयदेखि जारी द्वन्द्वका कारण ४३ लाख मानिस विस्थापित भएका छन् । द्वन्द्वग्रस्त सिरियाबाट विस्थापित ६ लाख ७५ हजार मानिस जोर्डनस्थित शरणार्थी शिविरमा रहेका छन् । यस्तै, म्यानमारका एक लाख बढी शरणार्थीहरु बंगलादेशको शरणमा छन् । डिसेम्बर महिनाको हालसम्म युरोपभर ७८ लाख भन्दा बढी युक्रेनी शरणार्थीहरु रेकर्ड भएको छ ।

इथियोपियाको तिग्रे क्षेत्रमा सन् २०२० को नोभेम्बरदेखि जारी सशस्त्र द्वन्द्वका कारण ७ लाख ५० हजार भन्दा बढी मानिस आफ्नो थातथलो छोड्न बाध्य भएको बताइएको छ । यू.एन.एच.सी.आरका अनुसार विश्वभरका सरकारहरुले युद्ध, हिंसा र मानवअधिकार उल्लंघनबाट विस्थापित मानिसहरुलाई करिब १ अर्ब १३ करोड डलर बराबरको सहायताको प्रतिबद्धता जनाएका छन् । यद्यपी मानवीय सहायताको लागि सो सहायता मात्रै पर्याप्त नहुने जनाइएको छ ।  


प्रतिक्रिया