म्यानमारमा अफिम खेती बढेको प्रतिवेदन सार्वजनिक

माघ १२, २०७९ | काठमाडौं

म्यानमारमा अफिमको उत्पादन ह्वात्तै बढेको राष्ट्रसंघीय प्रतिवेदनले देखाएको छ । युएनका अनुसार म्यानमारमा ९ वर्ष यताकै धेरे अफिम उत्पादन भएको हो ।

सन् २०२१ मा ४ सय २३ मेट्रिक टन रहेको अफिमको उत्पादन सन् २०२२ मा ७ सय ९५ मेट्रिक टन पुगेको बताइएको छ । हेरोइन बनाउन प्रयोग हुने अफिम रेजिनको उच्च विश्वव्यापी मूल्यसंगै आर्थिक कठिनाइ र असुरक्षाका कारणले उत्पादन बढेको राष्ट्रसंघको विश्वास छ ।

म्यानमारको दुर्गम, प्रायः उत्तरी शान र सीमावर्ती राज्यहरूमा द्वन्द्वग्रस्त क्षेत्रहरूमा किसानहरूसंग अफिममा फर्कनु बाहेक अन्य विकल्प नभएको लागूऔषध तथा अपराध सम्बन्धी संयुक्त राष्ट्र कार्यालयका प्रतिनिधिले बताएका छन् ।

म्यानमार, थाइल्याण्ड र लाओसको सिमाना मिल्ने क्षेत्र गोल्डेन ट्राएंगल ऐतिहासिक रूपमा अफिम र हेरोइन उत्पादनको प्रमुख स्रोत मानिन्छ ।

रुस–युक्रेन युद्ध, निरन्तर राजनीतिक अस्थिरता र बढ्दो मुद्रास्फीतिका कारण किसान अफिम खेती विस्तार गर्न बाध्य बनेको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानपछि म्यानमार विश्वको दोस्रो ठूलो अफिम उत्पादन गर्ने देश हो ।  


प्रतिक्रिया